सुर्खेत । कर्णाली प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा यही साउन ३ गते भएको घटनाको सत्यतथ्य बाहिर ल्याउन ३ सदस्यीय कार्यदल गठन गरेको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कलानिधि पौडेलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको हो । गठित कार्यदलमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव भक्तबहादुर कार्की र सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख बृर्षबहादुर शाही सदस्य रहनुभएको छ ।
उक्त कार्यदलले एक हप्ताभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यादेश दिइएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता बिमला केसीले जानकारी दिनुभयो । प्रदेश सरकारको दीर्घकालीन सञ्चालन र व्यवस्थापनका लागि स्थायीरूपमा भौतिक पूर्वाधार निर्माण गर्न उपयुक्त जग्गा खोजी गरी कार्यप्रारम्भ गरेको १५ दिनभित्र सिफारिश गर्न भौतिक पूर्वाधार मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय पनि गरिएको प्रवक्ता केसीले बताउनुभयो । त्यस्तै, सबै जिल्लामा खारेज भएका कार्यालय भवन र जमीन प्रदेश सरकारको मातहतमा दिन केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
Discussion about this post